सुर्खेत, २६ चैत । कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । आइतबार एमालेका तीन जना मन्त्रीले मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा पत्र बुझाएका हुन् ।
बदलिएको राजनीतिक परिस्थितिमा मुख्यमन्त्रीलाई काम गर्न सहजताका लागि आफूहरूले राजीनामा दिएको उनीहरूको भनाइ छ ।
कर्णाली सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज प्रछाई र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल सहभागी थिए ।
केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार नेकपा एमाले ३ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो ।
अब फेरि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ भने कांग्रेस सरकारमा सहभागी हुने बाटो खुलेको छ । कांग्रेस र माओवादी मिल्दा सुविधानजनक बहुमत हुने भएकाले एमाले सरकारबाट बाहिरिँदैमा मुख्यमन्त्री शर्मालाई कुनै अप्ठ्यारो भने पर्ने छैन ।