विदेशमा ज्यान गुमाएका नेपालीको बीमा रकममा ठगी, ६ जना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, २४ चैत्र

काठमाडौं, २४ चैत । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका नेपालीहरूका परिवारले पाउने बीमा रकम ठगी गर्ने ६ जना पक्राउ परेका छन् ।

विदेशमा मृत्यु भएका नेपालीहरूको परिवारले बीमाबापत पाउने रकम केही मात्रै दिएर अन्य रकम ठग्ने ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले चैत २३ गते दिउँसो काठमाडौंको गोंगबुबाट रामबहादुर तामाङसमेत ६ जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाइएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताए ।

उनले पक्राउ परेका तामाङको साथबाट मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याडलगायतका महत्वपूर्ण अन्य विविध कागजातहरूसहित बरामद गरी ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको बताए ।

पक्राउ पर्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–१२ का ४१ वर्षीय रामबहादुर तामाङ, सर्लाही लालबन्दी–८ का ३४ वर्षीय विनोदकुमार लामा, सर्लाहीको लालबन्दी–८ का ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय सर्लाही लालबन्दी–८ कै रविन्द्र मोक्तान, सोही स्थानका ३५ वर्षका प्रकाशबहादुर गोले र सर्लाहीको हरिवन–२ का ३९ वर्षीय रुद्रमान गोले रहेको प्रहरीले जनाएको छ ।

केसीका अनुसार शव नेपाल आइसकेपछि उनीहरूले पीडित परिवारलाई काठमाडौं बीमाको रकम लिन बोलाउने र कोठामा थुनेर आधाभन्दा बढी रकम ठगी गर्ने गरेको देखिएको बताए ।

प्रतिक्रिया