कोशी प्रदेशको नाम सच्याउन पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, २३ चैत्र

काठमाडौं, २३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका छन् । कोशी प्रदेशको नाममा मिसअन्डरस्ट्याण्डिङ भएको बताउँदै प्रचण्डले पार्टीको तर्फबाट नाम सच्याउन पहल गर्ने बताएका हुन् ।

माओवादी केन्द्रका नेता सुरेश आलेमगरसहित कोशी प्रदेशका माओवादी केन्द्रीय सदस्यहरु र मोर्चाका नेताहरुको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्र ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘कोशी प्रदेशको नाममा मिसअन्डरस्ट्याण्डिङ भयो । अब शान्तिपूर्ण ढंगले सच्याएर समस्याको समाधान कसरी गर्ने भनेर तपाईंहरुले प्रदेशमा पहल गर्नुस्, म पनि पार्टीको तर्फबाट यहाँ पहल गर्छु ।’

प्रधानमन्त्री प्रचण्डले पहिचानको मुद्दा उठाउने पहिलो पार्टी माओवादी भएको र त्यसलाई आफूहरुले अझै नछाडेको बताएका छन् । कोशी प्रदेशको पक्षमा प्रदेश सभामा मतदान गर्ने नीति पार्टी केन्द्रको नभएको उनले बताए ।

गत फागुन १७ गते प्रदेशसभाबाट नाम पारित हुँदा माओवादी केन्द्रले भूगोलको आधारमा कोशी प्रदेशको पक्षमा मतदान गरेको थियो । त्यसको एक महिनापछि नामांकन सच्याउने पक्षमा उभिएको छ । पहिचान पक्षधरले त्यसविरुद्ध आन्दोलन थालेपछि र पार्टी भित्रैबाट पनि विरोध भएपछि माओवादी केन्द्र पहिचानका आधारमा पुनः नामांकन गर्नुपर्ने पक्षमा उभिएको हो ।

पहिचान पक्षधरले कोशी प्रदेशको नाम खारेज गरेर नयाँ नाम राख्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका छन् । नामकरणको विरोधमा रहेका राजनीतिक दल र संघसंस्थाहरुले २५ चैतपछि ‘निर्णायक’ आन्दोलन गर्ने चेतावनी दिएका छन् । आन्दोलनमा माओवादी केन्द्रले पनि ऐक्यबद्धता जनाएको छ ।

आन्दोलनको क्रममा यही चैत ५ गते विराटनगरमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका ४२ वर्षीय पदमबहादुर लिम्बु (लाजेहाङ्ग)को उपचारको क्रममा चैत १० गते मृत्यु भएको थियो । यो घटनालगत्तै प्रधानमन्त्री प्रचण्डले आन्दोलनरत पक्षका प्रतिनिधिहरुसँग भेटेका थिए । त्यसपछि प्रचण्डको निर्देशनमा छानबिन समिति गठन गरिएको छ ।

प्रतिक्रिया