११ हजार फिट उचाइमा पाइलटले भने, ‘सुन्नुहोस्, जहाजभित्र एउटा सर्प छ…’
अखबार टुडे
प्रकाशित:
२०७९, २३ चैत्र

काठमाडौं, २३ चैत । दक्षिण अफ्रिकाको आकशमा ११ हजार फिट उचाइमा उडिरहेको एउटा जहाजको ककपिटमा सर्प देखापरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ब्लोमफन्टेनबाट प्रिटोरियाको लागि जहाज उडाइरहेका दक्षिण अफ्रिकाका पाइलट रूडोल्फ इरास्मसले ककपिटमै गोमन सर्प देखेपछि आकस्मिक अवतरण गरेका थिए ।

बीबीसीले जनाएअनुसार पाइलटको सिटमुनि गोमन सर्प घुमिरहेको थियो । पाइलटले भनेका छन्, ‘इमानदारीपूर्वक भन्नुपर्दा के भइरहेको थियो मेरो दिमागले बुझ्न सकेको थिएन । यो एकदमै डरलाग्दो क्षण थियो ।’ पाइलट रूडोल्फले आफ्नो पिठ्यूँमा चिसो मशसुश गरेका थिए । सुरूमा त्यो पानीको बोतल होला भनेर वास्ता नगरेको उनले बताएका छन् ।

‘मलाई सुरूमा चिसो र घस्रिरहेको जस्तो लागेको थियो । पानीको बोतल राम्रोसँग बन्द गरेको रहेनछु र पानी पोखियो भन्ने लागेको थियो,’ उनले भनेका छन्, ‘जब मैले बायाँतिर फर्केर तल हेरेँ, त्यहाँ एउटा कोब्रा थियो । उसले सिट भित्र आफ्नो टाउको राख्न खोजिरहेको थियो ।’

सर्प देखेपछि उनले जहाजलाई आकस्मिक अवतरण गराएका थिए । यदि सर्पले टोकेको भए ३० मिनेटमै मृत्यु हुने भएपनि पाइलट रूडोल्फ इरास्मसले विमानमा आतंक मच्चाउन नचाहेको बताए ।

‘सर्प पछाडि सरेर बाँकी यात्रुमा त्रास फैलिन सक्छ’ भन्ने उनलाई डर थियो । उनले यात्रुहरूलाई यसको बारेमा जानकारी दिए ।
‘सुन्नुहोस्, जहाजभित्र एउटा सर्प छ, त्यो मेरो सिटमुनि छ । त्यसैले जतिसक्दो छिटो जहाज अवतरण गर्ने प्रयास गरौं,’ उनले यात्रुहरूलाई भने ।

यात्रुको प्रतिक्रिया कस्तो रह्यो भन्ने प्रश्नमा रुडोल्फले जहाजमामा पूर्ण सन्नाटा छाएको बताए । पाइलटलाई धेरै किसिमका परिस्थितिका लागि तालिम दिइएको भए पनि ककपिटमा रहेका सर्पसँग कस्तो व्यवहार गर्ने भन्ने कुराको तालिम नदिइएको बताए ।

उनले वेलकम सिटीको विमानस्थलमा जहाजलाई आकस्मिक अवतरण गराएका थिए । त्यहाँ काम गर्ने दुई जनाले जहाजमा सर्प देखेको बताएका थिए ।

दक्षिण अफ्रिकाको नागरिक उड्डयन विभागका आयुक्त पोप्पी खोसाले पाइलट रुडोल्फको प्रशंसा गरेका छन् उनले पाइलटले अद्भूत काम गरेर जहाजमा सवार सबैको ज्यान बचाएको बताए ।

प्रतिक्रिया