पोर्नस्टार डेनियल्सविरुद्ध अदालतको आदेश, ट्रम्पलाई १ लाख २२ हजार डलर तिर्नुपर्ने
अखबार टुडे
प्रकाशित:
२०७९, २२ चैत्र

काठमाडौं, २२ चैत (एजेन्सी) । पोर्नस्टार स्टोर्मी डेनियल्सले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १ लाख २२ हजार अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । लस एन्जलसको अदालतले डेनियल्सलाई उक्त रकम ट्रम्पलाई क्षतिपूर्ति दिन आदेश दिएको हो ।

डेनियल्सले आफूलाई ट्रम्पले पछ्याउन नछाडेको र आफ्नो बच्चालाई खतरा रहेको भन्दै सन् २०१८ मा मानहानीको मुद्दा दायर गरेकी थिइन् । डेनियल्सले त्यसबेला ट्रम्पले आफूलाई धम्की दिएको आरोप समेत लगाएकी थिइन् । तर उनको आरोपहरू आधारहिन भएको अदालतले फैसला गरेको छ ।

उता डेनियल्सकै विषयमा ट्रम्पविरुद्ध फौजदारी आरोपहरू लागेको छ । सन् २०१६ मा जब ट्रम्पले रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको चुनावका लागि टिकट पाउँदै थिए तब स्टोर्मी ड्यानियल्सले संचारमाध्यमहरूसँग आफू र ट्रम्पबीच सन् २००६ मा अफेयर भएको र आफूहरूबीच कैयौँपटक शारीरिक सम्बन्ध भएको बताएकी थिइन् ।

त्यसबेला राष्ट्रपति निर्वाचनको अभियानमा धक्का पुग्ने भन्दै ट्रम्पले आफ्ना वकिल माइकल कोहेनमार्फत् ड्यानियल्सलाई अवैध सम्बन्धका बारेमा नबोल्न भन्दै १ लाख ३० हजार डलर दिएको आरोप छ । उनीमाथि ३४ आरोप लागेका छन् ।

उनीमाथि अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप लागेको छ ।

यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । उनले अदालतमा आत्मसमर्पण गरेर ३४ बुँदे अभियोगको प्रतिवादमा बयान दिँदै आफू दोषी नभएको जिकिर गरेका छन् । ट्रम्पले न्यूयोर्क अदालतमा हाजिर भएर झण्डै एक घण्टा बयान दिएर फ्लोरिडा फर्किएका छन । यस विषयमा अनुसन्धान जारी छ ।

प्रतिक्रिया