युद्धमा दुवै खुट्टा गुमाएका हरि मगर सगरमाथा चढ्न आधार शिविरतर्फ
अखबार टुडे
प्रकाशित:
२०७९, २२ चैत्र

काठमाडौं, २२ चैत । पूर्व गोरखा सैनिक हरि बुढा मगर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । उनी बुधबार विहान त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् ।

शारीरिक अशक्त रहेका उनका दुवै खुट्टा छैनन् । उनी कृतिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् । कृतिम खुट्टाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्ति समेत हुनेछन् ।

उनले पाँच वर्षको पर्खाइपछि सगरमाथा चढ्न अनुमति पाउँदा खुसी लागेको बताए । उनले आफ्नो सगरमाथाको सफल आरोहणले सारा नेपालीलाई खुसी दिने विश्वास व्यक्त गरे ।

शारीरिक अशक्त भएका व्यक्तिहरू कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको उनले बताए ।

सन् २०१० मा अफगानिस्तानको लडाईंमा उनले दुवै खुट्टा गुमाएका थिए । बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन् ।

उनले २०१७ मा मेरा चुचुरो आरोहण गरेका थिए र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडामाथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बने । उनको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन १९७९ मा भएको हो । यसअघि पनि उनी सगरमाथाको आधारशिविरसम्म पुगिसकेका छन् ।

प्रतिक्रिया