काठमाडौं, २१ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन मेयर उपेन्द्र बहादुर थापालगायत सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले नगरप्रमुख थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटा, लेखा अधिकृत मोहनबहादुर बुढा, लेखापाल लक्ष्मीप्रसाद अधिकारी र नमुना समाज सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर जिएम भन्ने लालबहादुर घर्ती मगर, अध्यक्ष भूमिसरा पुलामीविरुद्ध आज (मङ्गलबार) विशेष अदालत भ्रष्ट्रचार मुद्दा दायर गरेको हो ।
पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा दुई करोड २० लाख रुपियाँ भ्रष्टाचार गरेको ठहर अख्तियारको छ ।
अख्तियारले मेयर थापाविरुद्ध ५० लाख बिगो कायम गरी मुद्दा दायर गरेको हो । त्यस्तै पञ्चपुरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरीविरुद्ध ३० लाख बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।
त्यस्तै अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाविरुद्ध २० लाख, नगरपालिकाका लेखा अधिकृत मोहनबहादुर बुढाविरुद्ध ५० लाख, नगरपालिकाका लेखापाल लक्ष्मीप्रसाद अधिकारीविरुद्ध २० लाख विगो कायम गरी मुद्दा दायर भएको छ ।