
जनकपुरधाम, २१ चैत । नेकपा एमालेल मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार राजीनामा बुझाएका हुन् ।
मधेश प्रदेशमा एमालेबाट भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानुन, न्याय तथा प्रदेश मामिला मन्त्री राजकुमार लेखी र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मो. जैद आलम मन्त्री थिए । उनीहरू चारै जनाले राजीनामा दिएका हुन् ।
मधेश प्रदेशको सबैभन्दा ठूलो दल बनेको एमालेका प्रदेशसभामा २३ सांसद छन् । पुस २७ मा जसपाका दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो ।
एमाले सरकारबाट बाहिरिएपछि नेपाली कांग्रेस, नेकपा एस र लोसपा सरकारमा सहभागी हुने तयारी छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै काम गर्न असहज भएको भन्दै एमालेले सरकारबाट बाहिरिने निर्णय लिएको हो ।
