काठमाडौं, २१ चैत । सिइओ एलन मस्कले ट्वीटरको लोगो फेरिदिएका छन् । फेरिएको ट्वीटरको लोगोमा निलो चरा गायब भएको छ भने पहेँलो कुकुरको चित्र राखिएको छ ।
मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको मिमलाई नै ट्वीटरको लोगो बनाएका हुन् । अब ट्वीटरमा लगअन गर्ने बित्तिकै त्यही कुकुरको चित्रले तपाईंलाई स्वागत गर्नेछ ।
साथै ट्वीटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि शिवा तथा काबोसु नामक उक्त कुकुरको चित्र नै देखिने छ । यो परिवर्तन हाल ब्राउजरमा देखिएको छ । मोबाइल एपमा भने पुरानै निलो रंगको चरा नै देखिन्छ ।
विवादास्पद क्रिप्टोकरेन्सी डोजेक्वाइनको लोगोमा पनि यही कुकुरको तस्वीर छ । हाल मस्कले उक्त क्रिप्टोकरेन्सीको २५८ अर्ब डलर फिरौती सम्बन्धी मुद्दा झेलिरहेका छन् । त्यो मुुद्दा म्यानहटन अदालतमा जारी छ । मस्कमाथि डोजेक्वाइनको पिरामिड शैलीबाट रकम उठाएको तथा क्रिप्टोकरेन्सीमार्फत् नै ठगी तथा जुवा खेलाएको पनि आरोप छ ।
मस्कले एउटा ट्वीटर मार्फत् ट्वीटरको लोगो उक्त डगी नै भएको पुष्टि गरेका छन् । यसअघि कतिपय प्रयोगकर्ताहरुले ट्वीटर ह्याक भएर त्यस्तो भएको हुनसक्ने अड्कलबाजी गरेका थिए ।