कांग्रेस नेता जगन्नाथ पौडेलले भने, ‘चितवन २ मा मेरो समर्थन रास्वपालाई’
अखबार टुडे
प्रकाशित:
२०७९, २० चैत्र

चितवन, २० चैत । चितवनका कांग्रेस नेता जगन्नाथ पौडेलले उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समर्थन गर्ने बताएका छन् । पत्रकारहरुलाई प्रतिक्रिया दिँदै पौडेलले चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रास्वपा सभापति रवि लामिछानेलाई समर्थन गर्ने बताएका हुन् ।

उनले छोटो समयमा देशले रुपान्तरण खोजेको बताउँदै भने, ‘रुपान्तरणको निमित्त ऊर्जावान व्यक्तिहरुको आवश्यकता छ । त्यो समूह भनेको स्वतन्त्र पार्टीहरुको समूह हो । त्यो भएको हुनाले उहाँहरुलाई सहयोग गर्दा देशले निकास पाउँछ भन्ने लाग्छ ।’

उनले आफू स्वतन्त्रताप्रेमी भएको बताए । अहिले पार्टी प्रवेश नभइ समर्थनमात्र रहने पौडेलको भनाइ छ । स्थानीय तह निर्वाचन र प्रतिनिधि सभा निर्वाचनमा पौडेल पार्टीको आधिकारिक निर्णयविरुद्ध चुनाव लडेका थिए ।

बैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरी र रास्वपाबाट रवि लामिछाने उम्मेदवार छन् ।

प्रतिक्रिया