पूर्वनासु रघुनाथ घिमिरेविरुद्ध २ करोड १४ लाखको भ्रष्ट्राचार मुद्दा
अखबार टुडे
प्रकाशित:
२०७९, १९ चैत्र

काठमाडौं, १९ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभागका पूर्व नायब सुब्बा रघुनाथ घिमिरेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले घिमिरेविरुद्ध २ करोड १४ लाख ४६ हजार रुपैयाँ गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार घिमिरेले ७ करोड ३९ लाख रुपैयाँ सम्पत्ति जोडेका छन् । जसमध्ये उनको वैध आम्दानी ५ करोड २५ लाख रुपैंयाँ मात्र छ । घिमिरे तिनै व्यक्ति हुन्, जो गत जेठमा बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयामा अनधिकृत रुपमा प्रवेश गरेको आरोप लागेको थियो ।

पूर्वनासु घिमिरेमाथि विमानस्थल भन्सार, राजस्व अनुसन्धान विभाग लगायतका निकायमा बसेर राजस्व छल्ने र गैरकानूनी काम गरी सम्पत्ति कमाएको आरोप छ । कात्तिक २०५२ देखि पुस २०७९ सम्म सरकारी सेवामा रहेका उनले गैर कानुनी आर्जन गरेको सम्पत्ति श्रीमती शारदा गौतमको नाममा राखेको भन्दै अख्तियारले उनी विरुद्ध पनि मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया