‘नासुका आँसु देख्नुभएन’ भन्दै मन्त्री र सचिवलाई कर्मचारीको म्यासेज
अखबार टुडे
प्रकाशित:
२०७९, १९ चैत्र

काठमाडौं, १९ चैत । संघीय निजामती सेवा ऐनको मस्यौदामा आफूहरूले उठाएका विषय नसमेटिएको नायब सुब्बा (नासु)हरुले मन्त्री र सचिवलाई म्यासेज पठाएका छन् ।

उनीहरुले नासुका आँसु देख्नु भएन ? भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करलाई आज बिहान म्यासेज पठाएका हुन् ।

कर्मचारीहरूले पठाएको म्यासेजमा उल्लेख छ, ‘माननीय मन्त्रीज्यू, नासुका आँसु देख्नु भएन? तपाईंको ऐन हामीलाई स्वीकार्य छैन ।’ यसअघि उनीहरुले तत्कालीन सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ र तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालगायतलाई पनि यस्तै व्यहोराको एसएमएस पठाएका थिए ।

राजपत्र अनंकित कर्मचारीले प्रस्तावित संघीय निजामती सेवा ऐनमा विभिन्न माग समावेश गर्नुपर्ने भन्दै लामो समयदेखि विरोधका कार्यक्रम गर्दै आएका छन् ।

अधिकृत छैटौं तहको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ४० प्रतिशत बढुवा र १० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गर्न, सेवा प्रवेशको लागि चौथो, छैटौं, नवौं र एघारौं तहलाई प्रवेश बिन्दु कायम गर्न तथा सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य बनाउनुपर्ने माग पनि उनीहरुको छ ।

यसतै, पाँच वर्ष सेवा अवधि भएका कर्मचारीलाई एक तह र दश वर्षभन्दा बढी सेवा अवधि भएका कर्मचारीलाई दुई तह वृद्धि गर्नलगायतका माग उनीहरुले राखेका छन् । तोकिएको सेवा अवधि र शैक्षिक योग्यता भएका राजपत्र अनंकित कर्मचारीलाई सहसचिव (एघारौं) र उपसचिव (नवौं) तहको खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने कानुनी व्यवस्था गर्न पनि उनीहरुले माग छ ।

प्रतिक्रिया