फौजदारी अभियोग लागेपछि आत्मसर्मपण गर्ने तयारीमा डोनाल्ड ट्रम्प, के हो पोर्नस्टारसँग जोडिएको मामिला ?
अखबार टुडे
प्रकाशित:
२०७९, १७ चैत्र

काठमाडौं, १७ चैत । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोग लागेको छ । वर्षौंको अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले उनलाई फौजदारी अभियोग लगाएको हो ।

फौजदारी अभियोगबारे ग्रान्ड जुरीले स्पष्ट नगरे पनि विवाहेत्तर यौन सम्बन्धलगायत दुई दर्जन मुद्दा पूर्वराष्ट्रपतिलाई लाग्ने विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अघि ट्रम्पले अश्लिल चलचित्रकी नायिका पोर्नस्टार स्टोर्मी डेनियलसँग कायम गरेको यौनसम्बन्ध र त्यसलाई गोप्य राख्न उनलाई भुक्तान गरिएको एक लाख ३० हजार अमेरिकी डलरलाई मुख्य मुद्दा बनाइएको जनाइएको छ ।

ट्रम्पविरुद्धका मुद्दाको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । डेनियलले पनि आफूलाई ट्रम्पले मौन रहन रकम दिएको दाबी गरेकी छन् । पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएको उक्त आरोपको खण्डन गरेका छन् । उनले आफूमाथि लगाइएको आरोपलाई राजनीतिक स्वार्थबाट प्रेरित भएको बताएका छन् । उनका छोरा एरिकले आसन्न राष्ट्रपतिको चुनावलाई लक्ष्य गरेर विपक्षीले उक्त आरोप लगाएका बताएका छन् ।

म्यानहाटनस्थित सरकारी वकिलको कार्यालयले पूर्वराष्ट्रपतिको आत्मसमर्पणको सहजीकरणका निम्ति उनका वकिलसँग सम्पर्क गरिएको बताएका छन् । हाल फ्लोरिडामा रहेका उनी आगामी मङ्गबार न्युयोर्कको अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ ।

अदालतमा उनले आफू निर्दोष रहेको दलिल प्रस्तुत गर्दै अपिल गर्ने सम्भावना छ । उनलाई अदालतले धरौटीमा रिहा गर्ने सम्भावना पनि रहेको छ । शुक्रबार नै उनलाई आत्मसमर्पण गर्न भनिएको थियो तर उनका वकिलहरूले केही समय माग गरेका थिए । अमेरिकाको इतिहासमा पूर्वराष्ट्रपतिलाई फौजदारी अभियोग लागेको यो पहिलो घटना हो ।

के हो पोर्नस्टार जोडिएको मामिला ?
सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि पोर्नस्टार स्टोर्मी ड्यानियल्सलाई १ लाख ३० हजार अमेरिकी डलर तिरेको घटनामा उनलाई अमेरिकी प्रहरीले फौजदारी अपराध मुद्दामा गिरफ्तार गर्न लागेको बीबीसीले जनाएको छ ।

सन् २०१६ मा जब ट्रम्पले रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको चुनावका लागि टिकट पाउँदै थिए तब स्टोर्मी ड्यानियल्सले संचारमाध्यमहरूसँग आफू र ट्रम्पबीच सन् २००६ मा अफेयर भएको र आफूहरूबीच कैयौँपटक शारीरिक सम्बन्ध भएको बताएकी थिइन् ।

त्यसबेला ट्रम्पले हालकी पत्नी मलेनियासँग विवाह गरिसकेका थिए । राष्ट्रपति निर्वाचनको अभियानमा धक्का पुग्ने भन्दै त्यसबेला ट्रम्पले आफ्ना वकिल माइकल कोहेन मार्फत् ड्यानियल्सलाई अवैध सम्बन्धका बारेमा नबोल्न भन्दै १ लाख ३० हजार डलर दिएका थिए ।

कोहेन पनि ट्रम्पकै सोझो निर्देशनमा पैसा दिएको बताउँछन् । अभियोजनकर्ताहरूले पैसा दिएको विषयलाई गैरकानुनी र अवैध भनेका छैनन् । त्यसलाई सामान्य लेनदेनको रूपमै लिन सकिन्छ । तर, ट्रम्पले वकिललाई पैसा तिर्दा भने कानुनी शुल्क तिरेको भनेका छन्, जसको अभिलेख पनि राखिएको पाइएको छ ।

अभियोजकहरूले पोर्नस्टारलाई तिरेको पैसालाई कानुनी शुल्कको रूपमा अभिलेख राख्नुलाई फौजदारी अपराध भनेका छन् । ट्रम्पले व्यापारिक अभिलेखलाई झुटो साबित गरेको अनुसन्धानकर्ताको तर्क छ । यसअघि कोहेन ड्यानियल्सलाई गरेको भुक्तानीकै कारण जेल गइसकेका छन् । पैसा फरक प्रसंगमा खर्च गरेर कानुनी शुल्क भनिनु संघीय कानुनको उल्लंघन रहेको बताइएको छ ।

उता ट्रम्पले भने आफू र ड्यानियल्सबीच कुनै किसिमको सम्बन्ध नभएको बताउँदै आएका छन् । ट्रम्पमाथि चुनावको कानुन उल्लंघन गरेको आरोप पनि लाग्न सक्छ । चुनावका बेला पैसा दिएर कसैलाई बोल्नबाट बन्चित गरेकोमा र नक्कली अभिलेख राखेर अपराध ढाकछोप गर्नु झन् गम्भीर अपराध रहेको अमेरिकी कानुनले बताउँछ ।

न्युयोर्क सिटी जिल्ला वकिलका लागि पूर्व वित्तीय अभियोजक क्याथरिन क्रिस्चियन भन्छिन्, ‘ट्रम्प अपराध पुष्टि भएमा जेल जान सक्छन् । यो विषय कठिन हुन गइरहेको छ ।’ बीबीसीको सहयोगमा

प्रतिक्रिया