डा.स्वर्णिमको पत्र: देउवा-आरजु गिरोहको हेपाइले कांग्रेसमा रहन सकिनँ (पत्रसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, १६ चैत्र

काठमाडौं, १६ चैत । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेका छन् । वाग्लेले कांग्रेस नेताहरूलाई पत्र पठाएर पार्टी छाडेको जानकारी दिएका हुन् ।

उनले कांग्रेसप्रति अपार सद्भावका बाबजुद देउवा–आरजु गिरोहको हेपाइले पार्टीमा बस्न नसकेको उल्लेख गरेका छन् । कांग्रेसको नेतृत्वमा देउवा बाहेकका नेता पुगेको दिन पुनः सहकार्य हुने उनको भनाइ छ ।

उनको पत्रमा भनिएको छ, ‘काँग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।’

डा.वाग्लेले आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारी रहेको बताइएको छ । रास्वपाका प्रवक्ता मुकुल ढकालले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँबाट उपचुनाव उम्मेदवार बनाउन कुरा भइरहेको बताएका छन् । पार्टीले तनहुँ १ को उम्मेदवारीमा सरप्राइज दिने ढकालको भनाइ छ ।

डा. वाग्ले अहिले तनहुँ १ को वस्तुस्थिति बुझिरहेको बताइएको छ । राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष समेत हुन् । वाग्लेले ४ मंसिरको चुनावमा कांग्रेसको चुनाव घोषणापत्र तयारी समितिमा रहेर काम गरेका थिए । उनी त्यतिबेला कांग्रेसबाटै चितवन र काठमाडौंमध्ये एक ठाउँबाट चुनाव लड्ने चाहनामा थिए, तर सभापति शेरबहादुर देउवाले उनलाई प्राथमिकता दिएका थिएनन् ।

हेर्नुस् पत्रः

प्रिय दाइ,

हजुरहरुको अपार सद्भावका बावजूद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो।

अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’ को प्रयोगमा जान चाहें। यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चयपनि काँग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछिनै हामी बस्नेछौं ।

काँग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिन सक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौं, त्यहींबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।

प्रतिक्रिया