काठमाडौं, १६ चैत । लिम्बू विद्यार्थी मञ्चकी केन्द्रीय अध्यक्ष दीपा लक्सम लिम्बूले कोशी प्रदेशको पुनः नामांकन नगरिएसम्म आन्दोलन नरोकिने बताएकी छन् । लिम्बू विद्यार्थी मञ्चले सुरुदेखि नै प्रदेश १ को नाम सभ्यता र पहिचानको आधारमा हुनुपर्ने माग गर्दै आएको बताउँदै कोशी नाम खारेज हुनुपर्ने दीपाको भनाइ छ ।
प्रदेशसभाले प्रदेश १ को ‘कोशी प्रदेश’ नामाकरण गरेदेखि नै विमति जनाउँदै आएको मञ्च पुनः नामांकन संयुक्त संघर्ष समितिको आन्दोलनको होमिएको छ । लिम्बू विद्यार्थी मञ्चले आफ्नो २५औँ स्थापना दिवशसमेत कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै विराटनगरको सडकमै मनाएको थियो । पुनः नामांकन संयुक्त संघर्ष समितिले प्रदेश १ को नाम पहिचानको आधारमा ‘लिम्बूवान किरात’ प्रदेश हुनुपर्ने माग गर्दै चरमवद्ध आन्दोलन गरिरहेको छ ।
‘हाम्रो सभ्यता र पहिचान मास्न खोजिएको छ’ अध्यक्ष लिम्बूले भनिन्, ‘लिम्बूवान हाम्रो सभ्यता मात्र नभएर मौलिक हक अधिकार पनि हो । त्यसैले कोशी प्रदेश नाम हामी कदापि मान्न तयार छैनौँ ।’ उनले किरात पनि सभ्यता र पहिचान भएकोले प्रदेश १ को नाम ‘लिम्बूवान किरात’ हुनुपर्ने बताइन् ।
अध्यक्ष लिम्बूले पहिचानको आन्दोलनलाई ठूला राजनीति दल भनिएकाहरुले ‘जातीयता’को संज्ञा दिएर आन्दोलनलाई असफल पार्न षडयन्त्र गरिरहेको समेत आरोप लगाइन् । उनले भनिन्, ‘ठूला दल भनिएकाहरुले जातीयताको संज्ञा दिएर हाम्रो आन्दोलनलाई भाड्ने र असफल बनाउने षडयन्त्र गरिहेका छन् । तर, हामी सयंमित छौँ । हामीले जातीयताको आन्दोलन गरेका होइनौँ । हाम्रो आन्दोलन पहिचान, सभ्ययता र मौलिक अधिकारका लागि हो । हाम्रो माग सम्बोधन नभएसम्म यो आन्दोलन रोक्ने छैनौँ ।’
उनले आफ्नो अधिकार स्थापित गर्न पहिचानवादीहरु ज्यान बलिदान दिन समेत तयार रहेको बताइन् । ‘हामीहरु दबेका छौँ, अब सधैं हामी दविन चाहन्नौँ’ उनले भनिन्, ‘लोकतन्त्रमा आफ्नो हक अधिकार माग्न पाइन्छ । हामीले छुट्टै राज्य मागेका होइनौँ, पहिचानको आधारमा प्रदेशको नामांकन गर्न प्रदेश र संघसँग आग्रह गरेको हौँ ।’
उनले पहिचानवादीको आन्दोलनलाई केन्द्रीय र प्रदेश सरकारले सम्बोधन गर्न ढिलो गर्न नहुने समेत बताइन् । अध्यक्ष लिम्बूले भनिन्, ‘हाम्रो मागलाई सरकारले जजिसक्दो सम्बोधन गर्नुपर्छ । र, पहिचान पक्षधरलाई न्याय दिएर सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभूति दिलाउनुपर्छ ।’