काठमाडौं, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आज पूर्णता पाउँदैछ । सत्ता गठबन्धनमा रहेका दलहरूबीच मन्त्रालय भागवण्डामा सहमति जुटेपछि आज मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो ।
प्रधानमन्त्री दाहालले आजै साँझ नयाँ मन्त्रीहरूले शपथ खानेगरी मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरुको शपथ दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने बताइएको छ ।
सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालय, माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित पाँच, एकीकृत समाजवादी र जसपालाई दुई–दुई जनमत पार्टीलाई एक राज्यमन्त्रीसहित दुई, लोसपा, नागरिक उन्मुक्ति, आम जनता पार्टी र नेपाल समाजवादी पार्टीलाई एक–एक मन्त्रालय पाउने छ ।
सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बिहान ११ बजे बस्दैछ । एकीकृत समाजवादीले हिजै मन्त्री बन्नेको नाम टुंगो लगाइसकेको छ ।
उसले उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने निर्णय गरिसकेको छ । अरु दलहरूले आज मन्त्री बन्नेको नाम टुंगो लगाउने भएका छन् ।