
राटनगर, १४ चैत । विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा कम्तिमा १० जना घाइते भएका छन् ।
विराटनगरस्थित होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका आन्दोलनकारीका शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेपछि झडप भएको हो । सोक्रममा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार झडपमा तीन जना सशस्त्र प्रहरी तथा तीन जना नेपाल प्रहरीका जवान घाइते भएका छन् भने आन्दोलनकारी तर्फ ६ जना घाइते भएका छन् ।
झडपका कारण केही समय विराटनगर तनावग्रस्त बनेको थियो । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको थियो । यस्तै, आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । अहिले स्थिति सामान्यतर्फ फर्किएको छ ।
युएनडिपीको आयोजनामा आज र भोलिका लागि तय भएको कार्यक्रम यसअघि मोरङको सुन्दरहरैंचास्थित विराटचोकको होटेलमा राखिएको थियो । त्यहाँ प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले घेर्न आउने भएपछि असुरक्षा देखाएर विराटनगरको होटेल बिगमा राखिएको छ ।
पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग गर्दै प्रदर्शन गर्दै आइरहेका छन् ।