काठमाडौं, १४ चैत । सरकारले मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ । पीडितसँग छलफल गर्न गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
वार्ता टोलीका अन्य सदस्यमा उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगा बहादुर दंगाल छन् ।
शर्माका अनुसार सरकारले मिटरब्याज पीडितका समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसदमा विधेयक दर्ता गर्ने तयारी गरेको छ । उनले उक्त विधेयकको विषय आज (मंगलबार) बस्ने मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत हुने बताए ।
प्रेस संयोजक शर्माले उक्त वार्ता टोलीले मिटरब्याज पीडितसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सो बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउने कार्यादेश दिइएको बताए । वार्ता टोलीले छलफल गरेपछि प्रधानमन्त्रीले आज नै पीडितसँग भेट एवम् छलफल गर्ने कार्यक्रम तय भएको शर्माले बताए ।