नेपाल संगीत उद्योग संघद्वारा रोशनीलाई मानार्थ सदस्य प्रदान
अखबार टुडे
प्रकाशित:
२०७९, १४ चैत्र

काठमाडौं । संगीत उद्योगीहरुको छाता संगठन नेपाल संगीत उद्योग संघले गायिका रोशनी रसाइँलीलाई मानार्थ सदस्यता प्रदान गरेको छ । एमिन नेशनल म्युजिक अवार्डको अवसरमा रोशनीलाई मानार्थ सदस्यता प्रदान गरिएको हो ।

रोशनीलाई नेपाली संगीत क्षेत्रमा अतुलनीय योगदान पु-याएवापत मानार्थ सदस्यता प्रदान गरिएको संगीत उद्योग संघले जनाएको छ । रोशनी करिब १४ वर्षदेखि निरन्तर नेपाली गीत संगीत क्षेत्रमा क्रियाशील छन् । रोशनीले हालसम्म तीन दर्जनभन्दा बढी गीत गाइसकेकी छन् । तीमध्ये ‘शेल्फी खिचिन्छ’, ‘तेतिस किलो सुन’, ‘मै राम्री छु रे’जस्ता उनका गीत चर्चित छन् ।

सानैदेखि गायनप्रति सौख राख्दै अएकी रोशनी ‘काटी पलायो डाली’ बोलको लोकदोहोरी गीतमार्फत चर्चा आएकी हुन् । तर, उनी अझैपनि आफू गायनमा संघर्षरत रहेको बताउँछिन् । उनी भन्छिन्, ‘म त अझै संघर्षरत नै छु ।’ बागलुङमा जन्मेहुर्केकी रोशनी स्थानीयस्तरको सांगीतिक प्रतियोगिताहरुमा सहभागी जनाउँदा जनाउँदै गायनलाई करिअर बनाउने उद्देश्यसहित काठमाडौं छिरेकी हुन् ।

नेपाली गीतसंगीतमा योगदान पुर्याएवापत विभिन्न अवार्ड र सम्मानहरु समेत प्राप्त गरिसकेकी छन् । रोशनीले श्रीलंकाको राजधानी कोलम्बोमा ‘आयोजित दक्षिण एशियाली साझेदारी शिखर सम्मेलन तथा व्यापार मेला–२०२१’मा उत्कृष्ट महिला गायिका (अन्तर्राष्ट्रिय अवार्ड) हासिल गरिन् ।

यस्तै, सन् २०२१ मा ‘साली भेना’ गीतमार्फत उत्कृष्ट दोहोरी गायिकाको अवार्ड पाएकी थिइन् । रोशनीले ‘स्टार म्युजिक एण्ड फिल्म अवार्ड’, ‘छायाँछवि तीज संगीत पुरस्कार’लगायतका अवार्ड र पुरस्कारबाट सम्मानीत भइसकेकी छन् । साथै, विभिन्न इभेन्टहरुमा रोशनीले निर्णायकको भूमिकासमेत निर्वाह गरेकी छन् । जसमा निम अवार्ड–२०२३’, ‘जिनियस म्युजिक अवार्ड–२०७८’लगायत रहेका छन् ।

गायन क्षेत्रमै लागेर रोशनी ‘गिनिज बुक’मा आफ्ना नाम समेत राख्न सफल भइसकेकी छन् । सन् २०१७ मा एउटा नेपाली गीतमा ३६५ जनाले स्वर दिएर गिनिज बुुकमा रेकर्ड राखेको थियो । जुन गीतमा गायिका रोशनीले पनि स्वर दिएकी छन् । उनीहरुलाई तत्कालीन राष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा ‘गिनिज बुक अफ रेकर्डस्’को प्रमाणपत्र प्रदान गरिएको थियो । रोशनी गीतसंगीतबाट आफू खुसी रहेको बताउँछिन् ।

प्रतिक्रिया