काठमाडौं, १३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री र सभामुखबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको हो ।
भेटमा सभामुखको तजबिजी अधिकार कटौती गर्ने सत्ता गठबन्धनको तयारीका विषयमा सभामुख घिमिरेले चासो राखेको र त्यसैमा छलफल केन्द्रित भएको बताइएको छ ।
६ चैतमा प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को मस्यौदा प्रतिवेदन पेश भएको थियो । त्यसमा १५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । जसमा ‘विगतमा सभामुखले प्रयोग गर्दै आएका तजबिजी अधिकार कटौती गर्ने’ संशोधन प्रस्ताव सत्तारुढ दलहरुका सांसदहरुबाट परेको छ । सत्तारुढ दलहरु कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार सदन सन्चालन हुनुपर्नेमा अडिग छन् ।
कार्य व्यवस्था परामर्श समितिलाई बलियो बनाउने र सभामुखका अधिकार कटौती गर्ने सांसदहरुको संशोधनबाट सभामुख घिमिरे झस्किएका छन् । सभामुख घिमिरेले विभिन्न दलका नेताहरुसँग परामर्श गर्दै आएका छन् ।
हाल प्रमुख प्रतिपक्ष बनेको नेकपा एमालेबाट सभामुख बनेका घिमिरेले सरकारलाई असहयोग गर्नसक्ने भन्दै सभामुखका रुपमा उनले प्रयोग गर्ने तजबिजी अधिकार कटौती गर्न सत्ता पक्षका सांसदहरुले नियमावलीमा संशोधन प्रस्ताव हालेका हुन् ।
सत्ता पक्षका सांसदहरुको बहुमत भएका कारण उक्त संशोधन प्रस्ताव प्रतिनिधि सभाबाट पारित हुने सम्भावना छ । प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरे बीचको भेटवार्ताका क्रममा प्रतिनिधि सभामा रहेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’का सन्दर्भमा पनि छलफल भएको जनाइएको छ ।