आकाशमै ठोक्किनबाट जोगियो नेपाल एयरलाइन्स र एयर इण्डियाको जहाज, एटीसी कारबाहीमा
अखबार टुडे
प्रकाशित:
२०७९, १२ चैत्र

काठमाडौं, १२ चैत । एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट जोगिएको खुलेको छ ।

चैत १० गते शुक्रबार मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्स र नयाँदिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज झन्डै ठोक्किएको खुलेको हो ।

गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज एक्कासी तल आएपछि १५ हजार फिटको उचाइमा रहेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो । तर, एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले नेपाल एयरलाइन्सको जहाजलाई १३ हजार ५ सय फिटको उचाइमा झर्न लगाएपछि सम्भावित दुर्घटना टरेको बताइएको छ ।

यस घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले छानविन सुरु गरेको छ । छानविन पूरा भई प्रतिवेदन नआएसम्मका लागि सो समयमा एयर ट्राफिक कन्ट्रोलरको भूमिकामा रहेका २ एटीसीलाई ‘एक्टिभ ड्यूटी’बाट हटाइएको छ ।

यो घटनापछि एयर इण्डियाका पाइलटलाई कारवाही गर्न त्यहाँको नागरिक उड्डयन प्राधिकरणलाई नेपालको नागरिक उड्डयन प्राधिकरणले पत्र समेत लेखेको छ ।

यस्तो घटना केही समय अगाडि काठमाडौं नजिकैको आकाशमा समेत भएको थियो । सो घटनामा कतार एयरवेजका पाइलटको दोष देखिएपछि प्राधिकरणले कारवाही गर्न सम्बन्धित मुलुकको नियामक निकायमा पत्राचार गरेको छ ।

प्रतिक्रिया