गणतन्त्र र संघीयतामा पहिचान माग्नेको हत्या शृंखला रोकिएन : अशोक राई
अखबार टुडे
प्रकाशित:
२०७९, १२ चैत्र

काठमाडौं, १२ चैत । जनता समाजवादी पार्टीका नेता अशोक राईले गणतन्त्र र संघीय व्यवस्थामा पनि पहिचान माग्दा ज्यान जानु दुखद भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधान जारी गर्ने बेलामा मधेशमा पहिचानको अधिकार माग्ने ५९ जनाको हत्या भएको भन्दै अहिले कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा पनि हत्याको शृंखला जारी रहेको बताएका हुन् ।

कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधरहरुले गरेको आन्दोलनका क्रममा १० चैतमा पदमबहादुर लिम्बुको मृत्यु भएको थियो । उनले यो दुखद र गम्भीर घटना भएको बताउदै यसतो परिस्थिति रोक्न सरकारलाई आग्रह गरे ।

उनले भने, ‘यो दुखद र गम्भीर घटना हो । शान्तिपूर्ण ढङ्गले जनताले आफ्नो अधिकार माग्नु, पहिचान माग्नु नैसर्गिक अधिकार हो । हामीले संघीयता स्थापना गरेका छौँ, गणतन्त्र स्थापना गरेका छौँ । तर यही गणतन्त्र, लोकतन्त्र र संघीयताभित्र पहिचान माग्ने आन्दोलनकारीको ज्यान लिने प्रक्रिया अत्यन्त दुखद र निन्दनीय छ । यो परिस्थिति रोक्न सरकारलाई आग्रह गर्छु ।’

प्रतिक्रिया