होन्डुरसले तोड्यो ताइवानसँगको कूटनीतिक सम्बन्ध
अखबार टुडे
प्रकाशित:
२०७९, १२ चैत्र

काठमाडौं, १२ चैत (एजेन्सी) । मध्य अमेरिकी देश होन्डुरसले ताइवानसँगको दसकौँ पुरानो कूटनीतिक सम्बन्ध तोडेको छ । होन्डुरसको विदेश मन्त्रालयले ट्विट गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको जानकारी दिएको हो ।

होन्डुरस र ताइवान सन् १९८५ देखि कूटनीतिक सम्बन्धमा थिए । होन्डुरसले एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै ताइवान चीनको अभिन्न हिस्सा भएको पनि बताएको छ ।

टिव्टमा लेखिएको छ, ‘होन्डुरसको सरकारले एक चीनलाई मान्यता दिन्छ र पिपल्स रिपब्लिक अफ चाइना एक्लो वैध सरकार हो जसले पूरा देशलाई प्रतिनिधित्व गर्छ । ताइवान चीनको अभिन्न हिस्सा हो ।’

होन्डुरसको यो निर्णयपछि ताइवानसँग कूटनीतिक सम्बन्ध कायम रहेका देशहरुको संख्या अब १३ वटा मात्र रहेको छ । ती देशहरुले ताइवानलाई अलग देशको रुपमा मान्यता दिँदै आएका छन् ।

होन्डुरसले कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेपछि ताइवानले खेद व्यक्त गरेको छ । ताइवानसँग सम्बन्ध विच्छेद भएको औपचारिक घोषणा गरेसँगै होन्डुरसले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ ।

कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा चीन र होन्डुरसका विदेशमन्त्रीले हस्ताक्षर गरेका छन् । चीनले तेगुसिगल्पाको निर्णयलाई सही विकल्प भन्दै त्यसको स्वागत गरेको छ ।

प्रतिक्रिया