नेपाल प्रहरीको ‘आईजीपी’ मा बसन्त कुँवर नियुक्त
अखबार टुडे
प्रकाशित:
२०७९, १० चैत्र

काठमाडौं, १० चैत । सरकारले प्रहरी महानिरीक्षकमा बसन्त कुँवरलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको हो ।

सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक(आईजीपी) बन्न सफल भएका छन् । प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा कुँवर एक नम्बरमा थिए ।

यस पटक आईजीपी नियुक्त गर्दा सरकारले वरीयतालाई नै कायम राखेको हो । आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए ।

२०७९ वैशाख १८ मा सरकारले वरीयता मिचेर धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको थियो । ३० वर्षे सेवा अवधिका कारण सिंहले शुक्रबार राती १२ बजेदेखि अनिवार्य अवकाश पाउँदैछन् । उनीसहित ९ जना उच्च प्रहरी अधिकारीले एक साथ अवकाश पाउन लागेका हुन् ।

कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । चैत ६ मा मन्त्रिपरिषद्ले कुँवरसहित ५ जनालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो ।

प्रतिक्रिया