पदम लिम्बूको मृत्युपछि कोशी प्रदेशमा थप आन्दोलनका कार्यक्रम घोषणा
अखबार टुडे
प्रकाशित:
२०७९, १० चैत्र

काठमाडौं, १० चैत । कोशी प्रदेशमा चक्का जामसहितको थप आन्दोलनको घोषणा गरिएको छ । आफ्ना नेता पदम लिम्बूको मृत्यु भएपछि प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

उनीहरुले प्रदेशको नाम कोशी खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामङ्कनको माग सम्बोधन नगरुञ्जेल आन्दोलन गर्ने घोषणा गरेका छन् । साथै पदम लिम्बू (लाजेहाङ)लाई राज्यले सहिद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म मृतकको शव जिम्मा नलिने अडान पनि राखेका छन् ।

आज बसेको संयुक्त संघर्ष समितिको बैठकले मृतक परिवारलाई तत्कालका लागि एक लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ । यसतै संयुक्त राष्ट्रसंघ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र दिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले आज बेलुका ५ बजेदेखि ६ बजेसम्म प्रदेशका सबै जिल्ला र काठमाडौंमा विरोधसभा गर्ने, चैत ११ गते दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदेशको १४ वटै जिल्लामा चक्काजाम गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया