जेल सजाय सुनाइएको भोलिपल्ट राहुल गान्धीको सांसद पद खारेज
अखबार टुडे
प्रकाशित:
२०७९, १० चैत्र

काठमाडौं, १० चैत (एजेन्सी) । भारतीय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता खारेज भएको छ । चार वर्ष पुरानो एक आपराधिक मानहानी मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएको भोलिपल्ट लोकसभा सचिवालयले गान्धीको सांसद पद खारेज गरेको हो ।

गान्धी केरलाको वाडनाड लोकसभा सिटमा निर्वाचित भएका थिए । भारतीय संविधानको धारा १०२ (१) र जनप्रतिनिधित्व अधिनियम १९५१ अनुसार सजाय सुनाएकै दिन २३ मार्च २०२३ देखि उनको सांसद पद खारेज भएको सूचनामा उल्लेख छ ।

यसअघि बिहीबार सुरतको एक अदालतले आपराधिक मानहानी मुद्दामा राहुललाई २ वर्षको सजाय सुनाएको थियो । १५ हजार भारु जरिवाना तोकेको थियो । तर उनको सजाय ३० दिनका लागि स्थगित गरिएको थियो । अर्थात राहुलसँग अदालतले सुनाएको सजायविरुद्ध माथिल्लो अदालतमा अपील गर्ने समय एक महिना हुनेछ ।

२०१९ मा राहुलले मोदी थरबारे टिप्पणी गरेका थिए । उनले नीरव मोदी, ललित मोदी र अरुको नाम लिँदै भनेका थिए, कसरी सबै चोरको थर मोदी भयो ?

प्रतिक्रिया