
पोखरा, १० चैत । नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिने र मन्त्रीहरुले आजै राजीनामा दिने निर्णय गरेको हो ।
नेकपा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा माओवादीबाट नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जाली छन् ।
उनीहरूले आजै मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा बुझाउने तयारी गरेका छन् । माओवादीले समर्थन फिर्ता लिएसँगै अब मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
नेपाली कांग्रेस र माओवादीबीच प्रदेश सरकार आलोपालो गर्ने तयारी छ । तर पहिलो कार्यकाल को मुख्यमन्त्री बन्ने भन्ने अझै टुंगो लागिसकेको छैन । गण्डकीमा एमालेको उपसभामुखसहित २२, माओवादीका सभामुखसहित ८ जना सांसद छन् भने नेपाली कांग्रेसका २७ जना सांसद छन् । राप्रपाका २ र नेकपा एकीकृत समाजवादीका एक जना सांसद छन् ।