
मकवानपुर, १० चैत । नेकपा एमाले वाग्मती प्रदेश सरकारबाट बाहिरिएको छ । एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट बाहिरिएको घोषणा गरेका हुन् ।
शुक्रबारको प्रदेशसभा बैठकमा बोल्दै उनले सशक्त प्रतिपक्षको भूमिकामा रहने बताए । उनले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मतसमेत नदिने सदनबाटै जानकारी गराएका छन् । जम्कट्टेलले शुक्रबार नै सदनबाट विश्वासको मत लिँदैछन् ।
एमालेका मन्त्रीहरुले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । प्रदेश सरकारमा एमालेबाट जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री थिए ।
संघ सरकारमा नयाँ गठबन्धनपछि समीकरण फेरिएसँगै प्रदेश सरकारमा पनि त्यसको असर देखिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राप्रपा मिलेर पुष २६ गते प्रदेश सरकार बनेको थियो भने माघ ११ गते सरकारले पूर्णता पाएको थियो ।