काठमाडौं, १० चैत । राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । जसमा १ करोड ४२ लाख ५३ हजार ५ ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र १ करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन् ।
अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ । यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो । राष्ट्रिय जनगणना २०७८ अनुसार सन्दर्भ दिन २०७८ साल मंसिर ९ गतेलाई राखिएको छ ।
यसतै, सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौंमा २० लाख ४१ हजार ५८७ जनसंख्या छ भने सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङमा पाँच हजार ६८५ जना मानिस छन् ।
भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (एक करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४०.१ प्रतिशत (एक करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको छ ।
प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ ।
यसतै, सबैभन्दा बढी वृद्धिदर भक्तपुर जिल्लामा देखिएको छ । भक्तपुरमा ३.५ प्रतिशतले बढ्दा रामेछाप जिल्लामा भने सबैभन्दा बढी घटेको देखिएको छ । यो जिल्लामा हरेक वर्ष १.६७ प्रतिशतले जनसंख्या घटेको देखिएको छ । एक वर्ग किलोमिटरमा १९८ जना बस्छन् जनघनत्व (प्रति वर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या) बढेको छ। अहिले एक वर्ग किलोमिटरमा १९८ जना बस्ने गरेको देखिएको छ ।
भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ । सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा रहेको छ । काठमाडौंमा एक वर्ग किलोमिटरमा ५ हजार १६९ जना बस्ने गरेको पाइएको छ । सबैभन्दा कम मनाङ जिल्लामा तीन जना मात्रै बस्ने गरेका छन् ।
प्रतिवेदनअनुसार अहिले नेपालमा ६६ लाख ६६ हजार ९३७ परिवार छन् । जसमध्ये व्यक्तिगत परिवार (एकल) ६६ परिवार ६० हजार ८४१ र संस्थागत परिवार (संयुक्त) ६ हजार ९६ रहेका छन् ।
यसतै, १५ लाख ५५ हजार ९६१ परिवारका करिब २२ लाख नागरिक विदेशमा रहेको देखाएको छ । त्यसमा २१ लाख ९० हजार ५९२ जना परिवारमा अनुपस्थित रही विदेशमा बसेको तथ्यांक कार्यालयले जनाएको छ ।
यसअघि २ करोड ९१ लाख ९२ हजार ४८० जनसंख्या पुगेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो । अहिले २७ हजार ९ सय २ कम रहेको तथ्यांक सार्वजनिक भएको हो ।
हेर्नुहोस पूर्णपाठ: