मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय
अखबार टुडे
प्रकाशित:
२०७९, ९ चैत्र

काठमाडौं, ९ चैत (एजेन्सी) । गुजरातको सुरतस्थित अदालतले भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर उनीमाथि मानहानीको मुद्दा दायर भएको थियो ।

चार वर्षअघि दायर मुद्दामा बिहीबार अदालतले राहुललाई दोषी ठहर गरेको हो । अदालतले राहुललाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमति पनि दिएको छ ।

राहुलले सन् २०१९ मा कर्नाटकमा आयोजित चुनावी सभामा सो अभिव्यक्ति दिएका थिए । उनले भाषणमा बोलेका थिए, ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है ? (सबै चोरको थर मोदी किन हुन्छ ?’ । उक्त अभिव्यक्तिका विरुद्ध भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले गुजरातको सुरत अदालतमा मुद्दा दायर गरेका थिए ।

सो फैसला आउँदा राहुल अदालतमा उपस्थित थिए । गुजरात कांग्रेसका थुप्रै नेताहरू उनीसँग थिए । बाहिर समर्थकहरूले उनको पक्षमा नारा लगाइरहेका थिए । फैसला अनुसार गान्धी एक महिनासम्म पक्राउ पर्ने छैनन् । यो बीचमा उनले पुनरावेदन गर्न सक्नेछन् ।

प्रतिक्रिया