भविष्य ठानिएको तन्नेरी पुस्ता बेस्सरी आत्तिए, देश छोडेर भाग्न चाहन्छ : गगन थापा
अखबार टुडे
प्रकाशित:
२०७९, ९ चैत्र

काठमाडौं, ९ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा तन्नेरी पुस्ता अहिले सबैभन्दा धेरै आत्तिएको बताएका छन् ।

बिहीबार सामुदायिक रेडियो प्रशारक संघको १७ औँ साधारणसभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनमा बोल्दै महामन्त्री थापाले आफूले अहिलेजस्तो तन्नेरीहरू आत्तिएको कहिल्यै नदेखेको बताए ।

उनले भने, ‘मैले यति धेरै तन्नेरीहरू आत्तिएको कहिल्यै पनि देखेको थिएन । मैले कसैलाई पनि अत्याउन खोजेको होइन, तर मैले काम गर्दा जे अनुभूति गरिरहेको छु, त्यो अहिले मुलुकको भविष्य ठानिएको तन्नेरी पुस्ता बेस्सरी आत्तिएको छ ।’

उनले युवाहरूले देशमै राम्रो भविष्य छ भनेर विश्वास गर्न नसकेको बताए । ‘हाम्रो देशमा आज तन्नेरीहरू कोही पनि देशमै राम्रो हुन्छ भनेर विश्वास गर्न सकिरहेको छैन, सबै भाग्न मात्रै चाहन्छन् । मान्छेले राजनीतिक दाउपेचका समाचार सुनेर खुसी हुने अवस्था छैन । वास्तवमा अवस्था त्यति धेरै बिग्रिएको पनि होइन । देशमा केही न केही त राम्रो हुँदैछ भनेर आशा राखेर सुत्न पाउने अवस्था बनाउन सामुदायिक रेडियोहरूको भूमिका होस् ।’

उनले वास्तवमा प्रधानमन्त्री डराउनुपर्ने बेला अवस्था आएको बताए । उनले भने, ‘वास्तवमा अहिले तन्नेरीहरू आत्तिनुपर्ने, डराउनुपर्ने बेला होइन । आत्तिनुपर्ने प्रधानमन्त्रीले हो, सरकारले हो । तर प्रधानमन्त्रीले बेलैमा डराइदिनुभयो भने नागरिकको डर भाग्छ ।’

प्रतिक्रिया