सयौँ तिब्बतीलाई नेपाली नागरिकता बनाइदिने ५ जना गिरोह पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, ८ चैत्र

काठमाडौं, ८ चैत । तिब्बती शरणार्थीहरूलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ५ गते पक्राउ गरेको थियो । उनीहरूलाई कार्यालयले बुधबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा झापाको कचनकबलका कृष्णबहादुर कटवाल, भक्तपुरको मध्यपुर थिमिका न्युल्केश श्रेष्ठ, मोरङको सुन्दरहरैचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लागण्डकी नगरपालिकास्थित तिब्बती शरणार्थी क्याम्पका लोब्साङ ठिन्ले र ललितपुर गोदावरीका विजय लामा रहेका छन् ।

पक्राउ परेका व्यक्तिबाट किर्ते गर्न प्रयोग हुने वडा कार्यालयहरूको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरी बनाइएको गैरनेपालीले प्राप्त गरेको सक्कलै नागरिकतासमेत फेला परेको छ ।

पक्राउ परेकामध्ये कटवाल १० वर्षदेखि लेखापढी व्यवसायमा संलग्न व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनको साथबाट विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराइँ, विवाह दर्ता, सम्बन्धविच्छेद जस्ता वडा कार्यालयको सिफारिसलगायतका महत्त्वपूर्ण कागजात बरामद भएको प्रहरीले जनाएको छ ।

कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तिब्बती शरणार्थीहरुको सक्कलै नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिहरूलाई नक्कली बाबुका रूपमा उपस्थित गराई सनाखत गराउने गरेको खुलेको छ ।

पक्राउ परेका न्यूल्केश श्रेष्ठलाई कटवालले मिङछुङ शेर्पा नामको नक्कली नागरिकता बनाइदिएका थिए । त्यसपछि प्रति पटक १० हजार रुपैयाँ दिएर विभिन्न व्यक्तिको नक्कली बाबुको रुपमा प्रशासन कार्यालयमा उपस्थित गराउने गरेका प्रहरीको भनाइ छ । श्रेष्ठले तिब्बती शरणार्थी सोनाम छोडेन, टासी शेर्पा, नाम्से शेर्पा लगायतको नागरिकता बनाउन नक्क्ली बाबु बनेर सहयोग गरेको खुलेको छ ।् उक्त गिरोहले तिबब्बी शरणार्थीको नागरिकता बनाउन प्रतिव्यक्ति ३ देखि ५ लाखसम्म लिने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका लोब्साङ ठिन्ले तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका र निजले गत फागुन ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लोब्साङ ठिन्ले गुरुङको नामबाट स्थायी ठेगाना का.म.न.पा. १७ राखी ना.प्र.प.नं. २७–०१–७९–१५९०१ को नेपाली नागरिकता लिएको देखिएको छ ।

पक्राउ परेका अर्का व्यक्ति विजय लामा विगत ९ वर्षदेखि जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा काम गर्दै आएको र जिल्ला प्रशासन कार्यालय काठमाडौंभित्र मिलाउनु पर्ने सबै कामको जिम्मा लिने गरेको पनि खुल्न आएको छ । लामाले भित्र मिलाउनुपर्छ भनी कटवालसँग प्रतिनागरिकता १ लाख ५० हजारसम्म लिई नागरिकता प्राप्त गर्ने कार्यमा सहजीकरण गर्दै आएको देखिएको छ ।

कटवालले मात्रै ५/६ वर्षको अवधिमा झन्डै ५०० भन्दा व्यक्तिलाई यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको र उक्त कार्यमा निज कटवाल जस्तै अन्य ४/५ जना व्यक्ति पनि सक्रिय रहेको आशंकामा अनुसन्धान अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया