विदेशमा रहेको नेपाली श्रमिकलाई समेट्ने सामाजिक सुरक्षा योजना सुरु, कसरी आबद्ध हुने ?
अखबार टुडे
प्रकाशित:
२०७९, ८ चैत्र

काठमाडौं, ८ चैत्र । वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरिएको छ । सामाजिक सुरक्षा कोषले आजदेखि वैदेशिक रोजगारमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिका लागि सामाजिक सुरक्षा योजनाको सुरुवात गरेको हो ।

सामाजिक सुरक्षा कोषका निर्देशक डा. रोशन कोजुका अनुसार श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृती नवीकरण गर्ने बेला र नवीकरण गर्ने बेला नभएकाहरु पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत् सहभागी हुन सकिन्छ ।

त्यसका लागि हरेक महिना २ हजार २ रुपैयाँ बुझाउनुपर्छ । यो रकम एकमुष्ट पनि बुझाउन सकिन्छ । सात महिनाभन्दा बढीको रकम जम्मा गरेमा १० प्रतिशत छुट पाइने डा. जोशीले जानकारी दिए । खल्ती, ईसेवा र कनेक्ट आईपीएसमार्फत नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।

ह्वाट्सय एप र भाइबर ग्रुपमा जोडिएर सूचना लिन वा जिज्ञासा राख्न सकिन्छ । त्यसका लागि कल सेन्टर स्थापना गरिएको छ र यो चौबिसै घण्टा सन्चालन गर्ने व्यवस्था मिलाइएको पनि डा. जोशीले जानकारी दिए ।

यो योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक लाभान्वित हुने विश्वास छ । इजरायलमा रहेकी मञ्जु थपलियाको इनरोल रजिस्ट्रर गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थपलियाका श्रीमान् पत्रकार गोपाल सङ्ग्रौलालाई कोषमा आबद्ध भएको परिचयपत्र हस्तान्तरण गर्दै योजनाको सुरुवात गरे ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा रु ३० अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ । कोषले योगदानकर्तालाई रु तीन अर्ब ८१ करोड दाबी भुक्तानी गरेको छ । २०७५ मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो ।

प्रतिक्रिया