काठमाडौं, ८ चैत । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले त्रिभुवन विश्वविद्यालय समितिको अध्यक्षको जिम्मेवारी तीन जनालाई दिइएको व्यहोराको पत्र सार्वजनिक भएको छ ।
शेर्पाले विष्णुबहादुर बडैला, दीपकराज जोशी र गणेश भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिएको व्यहोराको पत्र सार्वजनिक भएको हो ।
चैत ७ गतेको मिति र अध्यक्ष शेर्पाको हस्ताक्षर भएको पत्रमा तीन महिनाभित्र समितिको अधिवेशन सम्पन्न गर्ने गरी विश्वविद्यालय समितिको अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख छ ।
तर केन्द्रीय अध्यक्ष शेर्पाले भने अध्यक्षमा मनोनित गरिएको भनिएका तीनैजना आधिकारिक नभएको बताएका छन् । केही दिनमा अध्यक्ष मनोनित गरिने उनको भनाई छ ।
अध्यक्ष शेर्पाले सुरुमा कैलालीका विष्णुबहादुर बडैलालाई अध्यक्षमा मनोनीत गरेका थिए । तर पछि दीपक र गणेशलाई पनि अध्यक्षमा मनोनीत गरेको पत्र सार्वजनिक भयो ।
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचनमा विष्णु र दीपकले आधिकारिक उम्मेदवार श्यामराज ओझाविरुद्ध उम्मेदवारी दिएका थिए । तर पछि ओझालाई सघाउने गरी उनीहरुले बागी उम्मेदवारी फिर्ता लिएका थिए ।
ओझा स्ववियु सभापतिमा निर्वाचित भएलगत्तै विष्णु र दीपकसँगै गणेश भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिइएको पत्र सार्वजनिक भएको हो । नेविसंघभित्र गुटगत विवाद तीव्र छ । अध्यक्ष शेर्पाको कार्यशैलीमा प्रश्न उठाउँदै असन्तुष्ट पक्षले उनको राजीनामा समेत माग्दै आएको छ ।