नयाँ बानेश्वरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी
अखबार टुडे
प्रकाशित:
२०७९, ७ चैत्र

काटमाडौं, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध नयाँ बानेश्वरमा नाराबाजी भएको छ । प्रधानमन्त्री प्रचण्ड ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा सहभागी हुन जाँदैगर्दा तीन जना युवाले प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेका हुन् ।

कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने प्रहरीसँग आग्रह गरेका थिए । तर प्रहरीले ती युवालाई समाउन खोज्दा नारावाजी गरेका थिए । उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ भन्दै विरोध गरेका थिए । त्यसैबीचमा अर्का एक युवाले ‘प्रहरीले मुख बन्द गर्न पाइँदैन’ भन्दै नारा लगाए ।

.दुवै युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा ‘गरिब मारा प्रचण्ड मुर्दावाद’, ‘मूल्यवृद्धि खारेज गर’, ‘नालायक सरकार होसियार’, ‘युवालाई मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन’ भन्दै नाराबाजी गरेका थिए । अर्को एक युवाले ‘बैंकको मिटर ब्याज मिनाह गर’ भन्दै नारा लगाएका थिए । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएसँगै कार्यक्रम स्थलमा प्रधानमन्त्री दाहाल पुगेका थिए । तीनै जना युवालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया