माओवादी नेता इन्द्र आङ्बोमाथि आक्रमणको प्रयास
अखबार टुडे
प्रकाशित:
२०७९, ७ चैत्र

काठमाडौं, ७ चैत्र । कोशी प्रदेश माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो ‘मौसम’माथि आक्रमणको प्रयास भएको छ । पाँचथरको फिदिमबाट ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने क्रममा आङ्बो सवार गाडीमा ढुंगा प्रहार भएको हो ।

ढुंगाले लागेर गाडीको सिसा फुटेको छ । उनी सकुशल रहेको र आक्रमण गर्नेको खोजी भइरहेको बताइएको छ । आक्रमणको जिम्मा कसैले लिएको छैन ।

कोशी प्रदेश सांसद तथा माओवादी संसदीय दलका नेता आङ्बोले प्रदेश नामाकरणको पक्षमा भोट दिएका थिए । यसअघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुंगामा आक्रमणको प्रयास भएको छ । संघर्ष समितिका कार्यकर्ताले मुख्यमन्त्री सवार गाडीमा आक्रमण गरेका थिए ।

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको थियो । त्यसयता पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् र आन्दोलन उग्र बन्दै गएको छ ।

प्रतिक्रिया