कैलालीमा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु हुँदा २८ घाइते
अखबार टुडे
प्रकाशित:
२०७९, ७ चैत्र

धनगढी, ७ चैत । कैलालीको जोशीपुर गाउँपालिका–७ हजारीबारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

सोमबार राति से १ त ८८७० नम्बरको ट्याक्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले ट्याक्टरमा सवार भजनी नगरपालिका–९ बस्ने १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको मृत्यु भएको जानकारी दिए ।

उनीहरु दुवै जनाको उपचारका क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको डीएसपी चन्दले बताए । उनका अनुसार घाइतेहरु खतरामुक्त छन् । जोशीपुरमा आफन्तकोमा पास्नीको भोज खाएर भजनी नगरपालिका–९ कुणीतर्फ फर्किंदै गर्दा उनीहरु ट्याक्टर दुर्घटनामा परेको बताइएको छ ।

ट्याक्टर चालक भजनी नगरपालिका–९ कै सुरज चौधरी भने फरार छन् । उनको खोजी भइरहेको छ । दुर्घटनाको कारण भने खुलेको छैन तर ओभरलोड र तीव्र गतिका कारण ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया