
काठमाडौं, ३ चैत । जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए ।
यस्तै निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले कुल १६ हजार ३२८ मत प्राप्त गरिन् । शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् ।
जनमतबाट उपराष्ट्रपतिका उम्मेदवार ममता झाले २ हजार ५३७ मतभार प्राप्त गरेको राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै जसपाबाट उपराष्ट्रपतिकी अर्की उम्मेदवार प्रमिला कुमारीले प्रदेशतर्फ ४८ मतभार अर्थात् १ सांसदको मत पाएकी छन् । सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार रामसहायप्रसाद यादव बनेकाले प्रमिलाले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेकी थिइन् ।
प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा गरी कुल मतभार ५२ हजार ६२८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार ३ सय १४ मतभारभन्दा बढी मत ल्याई निर्वाचित भएका हुन् । उपराष्ट्रपति निर्वाचनमा संघका ३३३ संघीय सांसद र ५५० प्रदेशसभा सदस्य मतदाता छन् । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।
