ओस्कर विजेता अभिनेत्री मिसेलले सम्झिइन् नेपालमा गएको २०७२ सालको भूकम्प
अखबार टुडे
प्रकाशित:
२०७९, ३ चैत्र

काठमाडौं, ३ चैत । मलेसियन अभिनेत्री मिसेल योह ओस्कर अवार्ड जित्ने पहिलो एसियाली अभिनेत्री बनेकी छन् । ओस्कर जितेसँगै अहिले उनी चर्चामा छिन् । योहले केही दिनअघि अमेरिकाको क्यालिफोनियामा सम्पन्न एकेडेमिक अवार्डमा फिल्म ’एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी हुन् ।

यसअघि उनले यसै फिल्मबाट गोल्डेन ग्लोब र स्क्रिन एक्टर्स गिल्ड अवार्ड जितेकी थिइन् । ओस्कर जित्दा आफूलाई निकै खुसी लागेको बताएकी छन् । साथै, उनले आफूलाई बधाइ दिनेहरु सबैलाई धन्यवाद दिएकी छन् ।

अमेरिकन पत्रिका ‘द न्यूयोर्क टाइम्स’मा उनको आलेख प्रकाशन भएको छ । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमकी सद्भावना दूतसमेत रहेकी ६० वर्षीय मिसेलले उक्त लेखमा आफूले एउटा जानकारी दिन चाहेको बताएकी छन् । उनले ८ वर्षअघि नेपालमा हुँदा आफ्नो जीवनमा ठूलो परिवर्तन आएको लेखेकी छन् ।

उनी २०७२ मा भूकम्प आएको बेला नेपालमा थिइन् । उनले लेखेकी छन्, ‘यो सन् २०१५ अप्रिल २५ को कुरा हो । म र मेरा श्रीमान नेपाल घुम्न गएका थियौं । अचानक मैले पृथ्वी हिंस्रक रूपमा काम्न थालेको महसुस गरेँ । उक्त भूकम्पले देशलाई तहसनहस बनायो । बाँच्नका लागि ढोकासम्म पुग्न कठिन थियो । म आफ्नो खुट्टामा उभिन सकिरहेकी थिइनँ । हामी घण्टौंपछि बाहिर निस्कियौं ।’

गत महिना टर्की र सिरियामा गएको विनाशकारी भूकम्पले फेरि नेपालका बारेमा सोच्न बाध्य भएको उनले बताएकी छन् । उनले लेखेकी छन्, ‘सिरियाको सामाजिक आर्थिक अवस्था कमजोर छ । त्यहाँका ९० प्रतिशत मान्छे गरिबीमा बाँचिरहेका थिए । धेरै अहिले घरबारविहीन छन् । उनीहरूलाई आफ्नो जीवन पुनर्निर्माण गर्न वा आफ्नो परिवारलाई सुरक्षित राख्न स्रोतसाधनको अभाव छ ।

उनले लेखेकी छन्, ‘संकटले विद्यमान असमानताहरूलाई उजागर गर्छन् । गरिबीमा बाँच्नेहरू, विशेषगरी महिला र केटीहरूले पीडा भोग्छन् । विपदले सरसफाइ, स्वास्थ्य सुविधा र सुरक्षाको अभावले महिलाहरूलाई असमान रूपमा असर गर्छ। मैले यी सबै कुरा नजिकबाट देखेकी छु । नेपाल भ्रमणले मेरो जीवनमा ठूलो परिवर्तन ल्याएको छ ।’

उनले महिलाहरू नेतृत्वमा नआएका कारण संकटको अवस्थामा धेरै असर महिलाहरूलाई नै हुनेसमेत बताएकी छन् ।

प्रतिक्रिया