काठमाडौं, ३ चैत । जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाएका नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रूपैयाँ दिने भएको छ ।
विजयी क्रिकेट टोलीलाई शुक्रबार बिहान बालुवाटारमा बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मानस्वरूप ३–३ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले हिजोको प्रदर्शनबाट आफू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिएका छन् । उनले भने ‘मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईँहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस् । म अग्रिम शुभकामना व्यक्त गर्दछु ।’
खेलाडीको सुखदुःखमा आफू सधैं साथमा रहने प्रधानमन्त्री प्रचण्डले बताए । ‘विश्वकप छनोटका लागि तपाईँहरूलाई थप सफलता मिलोस्। म तपाईहरूको सुखदुखमा साथमै हुनेछु’ प्रधानमन्त्रीले भने, ‘यसअघि पनि सरकारले तपाईहरूलाई जनही दुई लाख राशीले पुरस्कृत गरिसकिएको छ । आज म तपाईहरूलाई जनही रू. तीन लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु ।’
प्रधानमन्त्री प्रचण्डले तत्काल कीर्तिपुरस्थित त्रिवि मैदानमा आधुनिक फ्लटलाइट र स्कोरबोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशनसमेत दिएका छन् ।
नेपालले विश्वकप छनोटमा यी टिमसँग प्रतिस्पर्धा गर्नेछ:
विश्वकप छनोटमा खेल्ने १० टिममध्ये पाँच टिमको टुंगो लागिसकेको छ । अब पाँच टिमको टुंगो लाग्न बाँकी छ । जसमध्ये लिग टुबाट नेपाल, स्कटल्यान्ड, ओमान र सुपर लिगबाट जिम्बाब्वे र नेदरल्यान्ड्स गरी पाँच टिमले विश्वकप छनोट प्रतियोगिता खेल्ने पक्का भएको हो ।
अब प्ले अफका दुई टिम र सुपर लिगका तीन गरी पाँच टिमको टुंगो लाग्न बाँकी छ । प्ले अफबाट जर्सी, क्यानडा, अमेरिका, पपुवा न्युगिनी, युएई र नामिबियामध्ये शीर्ष दुईमा पर्ने टिम विश्वकपमा छनोट हुने छ ।
यसतै, सुपर लिगबाट वेष्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलंका र आयरल्यान्ड गरी चार टिममध्ये तीन टिमले विश्वकप छनोट खेल्नुपर्नेछ । भारतमा हुने विश्वकपमा लागि आयोजकसहित अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान र बंगलादेश छनोट भइसकेका छन् ।
अब वेष्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलंका र आयरल्यान्डमध्ये एक टिमले विश्वकपमा स्थान बनाउने छन् । २०२३ को अक्टोबरबाट भारतमा सुरू हुने विश्वकप क्रिकेटमा १० टिमको सहभागिता रहनेछ । जहाँ ग्लोबल छनोटबाट दुई टिमले विश्वकपमा स्थान बनाउने छन् ।