उपराष्ट्रपतिका लागि आज मतदान हुँदै, आजै परिणाम आउने
अखबार टुडे
प्रकाशित:
२०७९, ३ चैत्र

काठमाडौं, ३ चैत । उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ ।

उपराष्ट्रपति लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् ।

जसपाकी प्रमिलाकुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको घोाषणा गरेकी छन् । तर, उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनकोसमेत नाम छ ।

उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्य मतदाता हुन्छन् । उनीहरुका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । संघीय संसद्का सदस्यले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्नेछन् भने प्रदेशसभाका सदस्यले बगैँचा तर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया