डीडीसीले १६ रुपैयाँसम्म बढायो दूधको मूल्य, कसको कति पर्छ ?
अखबार टुडे
प्रकाशित:
२०७९, २ चैत्र

काठमाडौं, २ चैत । दूग्ध विकास संस्थान (डीडीसी)ले आजैबाट लागू हुने गरी सबै प्रकारका दूधको मूल्य बढाएको छ । संस्थानले बिक्री गर्ने चार प्रकारका दूधमा प्रतिलिटर १० देखि १६ रुपैयाँसम्म मूल्य बढाएको हो ।

संस्थानको बुधबार बसेको सञ्चालक समिति बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको थियो । जसअनुसार सबैभन्दा धेरै बिक्री हुने निलो प्याकेटको स्ट्याण्डर्ड दूधको मूल्य लिटरमा ११ रुपैयाँले बढेर ९७ रुपैयाँ कायम भएको छ ।

संस्थानका अनुसार बजारमा पाइने आधा लिटरको एक पोका दूधको मूल्य काठमाडौं उपत्यकामा अब ४३ रुपैयाँबाट बढेर ४८ रुपैयाँ ५० पैसा कायम भएको छ । सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीका अनुसार यो मूल्य काठमाडौं, विराटनगर, जनकपुर, हेटौंडा र वीरगन्ज क्षेत्रमा लागू हुनेछ ।

यस्तै लुम्बिनी प्रदेशमा प्रतिलिटर ९४ रुपैयाँ मात्रै तोकिएको छ भने नेपालगन्ज र धनगढीमा स्ट्याण्डर्ड दूधको मूल्य प्रतिलिटर ९२ रुपैयाँ तोकिएको छ ।

यस्तै, फूल क्रिम दूधको प्रतिलिटर मूल्य १३० रुपैयाँ पुगेको छ । यो दूधमा संस्थानले लिटरमा १६ रुपैयाँले मूल्य वृद्धि गरेको छ । अब बजारमा पाइने यस्तो दूधको आधा लिटर प्याकेटको मूल्य ५७ रुपैयाँबाट बढेर ६५ रुपैयाँ कायम भएको छ । विराटनगर भने यस्तो दूधको मूल्य ११४ रुपैयाँबाट बढेर १२० रुपैयाँ पु¥याइएको छ ।

गाईको दूधको मूल्य लिटरमा ११६ रुपैयाँ पु¥याइएको छ । यो दूधमा प्रतिलिटर १४ रुपैयाँले मूल्य बढेको छ । अब बजारमा पाइने आधा पोका गाईको दूधको डीडीसीको मूल्य ५१ रुपैयाँबाट ५८ रुपैयाँ पुगेको छ ।

बजारमा चिया पकाउन प्रयोग हुने लो–फ्याट चिया दूधको मूल्य भने लिटरमा १० रुपैयाँले बढाएर ८० बाट ९० बनाइएको छ । अब ४० रुपैयाँमा पाइने आधा प्याकेट दूधको मूल्य ४५रुपैयाँ पु¥याइएको छ ।

प्रतिक्रिया