सन् २०२६ को विश्वकपमा चार टिमको १२ समूह हुने
अखबार टुडे
प्रकाशित:
२०७९, १ चैत्र

काठमाडौं, १ चैत । सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकप फुटबलमा फिफाले समूहको फर्म्याटलाई परिवर्तन गरेको छ ।

पहिलो पटक ४८ देशको सहभागिता हुने विश्वकपमा यसअघि तीन–तीन टिमको १६ समूह बनाउने बताइएको थियो । तर फिफाले पुरानै फर्म्याट चार–चार टिम सम्मिलित १२ समूह बनाउने निर्णय गरेको हो ।

यस निर्णयसँगै अब २०२६ को विश्वकपमा कूल १०४ खेल हुनेछ । यस्तै, १२ समूहका शीर्ष दुई टिम र तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टिम गरी कुल ३२ टिम दोस्रो चरणमा पुग्ने फिफाले जनाएको छ । अफ्रिकी राष्ट्र रुवान्डामा भएको फिफा काउन्सिलले यो निर्णय गरेको हो ।

फिफा विश्वकप २०२६ मा १६ सहरमा खेल हुनेछन् । जहाँ एसियाबाट ८ टिम, अफ्रिकाबाट ९ टिम, उत्तर अमेरिकाबाट ६ टिम, दक्षिण अमेरिकाबाट ६ टिम, ओसियानाबाट १ टिम र युरोपबाट १६ टिम गरी कुल ४६ टिम छनोट हुनेछन् । यस्तै युरोपबाहेक अरु क्षेत्रका लागि प्लेअफ कोटा पनि हुनेछ । दुई टिम प्लेअफबाट छनोट हुने प्रावधान छ ।

प्रतिक्रिया