उपराष्ट्रपति महिलालाई बनाउनुपर्ने मागसहितको रिट दरपिठ
अखबार टुडे
प्रकाशित:
२०७९, ३० फाल्गुन

काठमाडौं, ३० फागुन । उपराष्ट्रपति महिलालाई नै बनाउनुपर्ने मागसहित सर्वोच्चमा पेस गरिएको रिट दरपिठ भएको छ ।

राष्ट्रपतिमा पुरूष निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा महिला हुनुपर्ने मागसहित अधिवक्ता राधिका खतिवडाले सोमबार सर्वोच्चमा रिट निवेदन दिएकी थिइन् । सो रिटमाथि सर्वोच्चका रजिष्टारले दरपीठ गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालयले १० दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम गरेको थियो ।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायको दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले यादवको उम्मेदवारी यथावत रहने जानकारी दिएका थिए । तर, उम्मेदवार यादवको उम्मेदवारीमा नेकपा एमाले र जनमत पार्टीबाट दाबी विरोध परेको थियो ।

उपराष्ट्रपतिका लागि ३ जनाको उम्मेदवारी परेको छ। सुरूमा चारजनाको उम्मेदवारी परेपनि जसपाकी प्रमिला कुमारी यादवले उम्मेदवारी निस्क्रिय पारेपछि ३ जनाको उम्मेदवारी कायम रहेको छ ।

प्रतिक्रिया