काठमाडौं, २० फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले मोरोक्को अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् । पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति बनेपछि पौडेलले गरेको यो पहिलो नियुक्ति हो । ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति पौडेलले आजै मात्र राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिएका थिए । शीतलनिवास प्रवेशपछि पौडेलको यो पहिलो सार्वजनिक निर्णय हो ।