रासायनिक मलको मूल्य बढ्यो, अब कति पर्छ ?
अखबार टुडे
प्रकाशित:
२०७९, २९ फाल्गुन

काठमाडौं, २९ फागुन । सरकारले रासायनिक मलमा दिंदै आएको अनुदान कटौती गरेको छ । सरकारले रासायनिक मलमा ११.७८ प्रतिशतले अनुदान कटौती गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस अघि ७०.८२ प्रतिशत अनुदान रहेकोमा अब ५९.०४ प्रतिशत मात्र अनुदान पाउने छन् । यसलाई क्रमशः ५० प्रतिशतमा कायम गरिने मन्त्रालयको भनाई छ ।

अनुदान कटौतीसँगै अब सबै प्रकारका रासायिनक मलको मूल्य साविकको भन्दा महँगो हुने भएको छ । मन्त्रालयले आज राति १२ बजेदेखि लागु हुने गरी मलको नयाँ मूल्य तोकिएको जनाएको छ ।

मन्त्रालयका अनुसार अब युरियाको २५ रुपैयाँ, डिएपीको ५० रुपैयाँ, पोटासको ४० रुपैयाँ मूल्य कायम भएको छ । यस अघि युरिया १४, डीएपी ४३ र पोटास ३१ रुपैयाँमा पाइन्थ्यो ।

रासायनिक मलको अन्तर्राष्ट्रिय मूल्य बढ्दै गएको तथा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनियमदरमा कमी आएकोले मलमा दिँदै आएको अनुदान घटाएको मन्त्रालयले जनाएको छ ।
यस निर्णय अगाडि सहकारी डिलरहरूले कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङ कर्पोरेसनबाट पुरानो मूल्यमा खरिद गरेको मल भने साविककै अनुदान मूल्य बेच्न पत्राचार गरेको मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार नेपालमा वार्षिक ५ लाख २० हजार मेट्रिक टन मलको आवश्यकता छ । चालु आर्थिक वर्ष २०७९/८० मा रासायनिक मल खरिदका लागि १५ अर्ब ६ लाख रुपैयाँ बजेट विनियोजन भएता पनि पछि बढाएर ३८ अर्ब ५० करोड ६ लाख रुपैयाँ बजेट पु¥याइएको छ।

सो बजेटअनुसार ३१ अर्ब रुपैयाँको तीन लाख ३१ हजार पाँच सय मेट्रिक टन मल खरिद व्यवस्था भइसकेको मन्त्रालयले जनाएको छ । त्यसमध्ये दुई लाख २७ हजार पाँच सय मेट्रिक टन मल आयात भइसकेको छ भने बाँकी ९४ हजार मेट्रिक टन मल आयातको क्रममा छ ।

प्रतिक्रिया