काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नवनिर्वाचित पौडेलले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिएका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति लगायतको उपस्थिति रहेको थियो । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । आजबाट नै राष्ट्रपति पौडेलले राष्ट्राध्यक्षको रूपमा काम गर्नेछन् ।
साथै निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाइका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए । भण्डारी शीतलनिवासबाट तत्कालका लागि छोरीको घरमा जाने भएकी छन् ।
यसअघि काठमाडौंको बूढानीलकण्ठस्थित निजी निवासमा सर्ने तयारीमा थिइन् । तर, त्यहाँ मर्मतको काम बाँकी रहेकाले तत्कालका लागि छोरीको घरमा बस्न लागेको हो ।
तस्बिरहरु: