
काठमाडौं, २९ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्र्तगत जारी अन्तिम शृङ्खलाको तेस्रो खेलमा नेपालले छक्का र चौकाको बर्षा गरेपछि पपुवा न्युगिनीविरुद्ध कीर्तिमानी जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले १ विकेट गुमाएर ७ .४ ओभरमा ९६ रनको लक्ष्य भेट्टायो । नेपालले यो विकेटको आधारमा हात पारेको अहिलेसम्मकै ठूलो जित हो ।
नेपालका लागि आसिफ शेखले २१ बल खेल्दै ८ चौका र ३ छक्काको मद्दतमा अविजित ५३ रन बनाए । कुशल भुर्तेलले १४ बल खेल्दै चार चौका र २ छक्का मद्दतमा ३३ रन बनाए । यस्तै, कुशल मल्लले अविजित १२ रन बनाए । १३ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे ।
पपुवा न्युगिनीलाई सस्तैमा समेट्न स्पीनर सन्दीप लामिछानेले ५ विकेट लिए । यस्तै ललित नारायण राजवंशी र कुशल मल्लले समान २/२ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए । पीएनजीका लागि काड सोपरले एक विकेट लिए ।
जीतसँगै नेपालले ३५ खेलमा ३८ अंक जोडेको छ । अब नेपाल विश्वकप क्वालिफायरमा पुग्नबाट एक जित मात्र टाढा छ । त्यसका लागि नेपालले बिहीबार हुने लिग टू कै अन्तिम खेलमा युएईलाई हराउनुपर्नेछ ।