विश्वकप क्रिकेट लिग-२ : यूएईविरुद्ध जब नेपाली बलर चम्किए…
अखबार टुडे
प्रकाशित:
२०७९, २८ फाल्गुन

काठमाडौं, २८ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्र्तगत जारी अन्तिम शृङ्खलाको दोस्रो खेलमा नेपालले यूएईलाई १ सय ७७ रनले हराएको छ ।

नेपाली बलरहरु चम्किएपछि उक्त जित सम्भव भएको हो । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएई २२ ओभर ५ बलमा रन बनाउँदा ७१ रनमै अलआउट भयो ।

यूएईका लागि आयन अफजल खानले सर्वाधिक २९ रन बनाए । बलिङतर्फ नेपालका ललित राजवंशीले ५ विकेट लिए । यस्तै सन्दीप लमिछानेले २ तथा सोमपाल कामी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर २ बलमा २ सय ४८ रन बनाउँदा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए । यस्तै आरिफ शेखले ४३, गुलसन झाले ३७ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए ।

बलिङतर्फ यूएईका आयन अफजल खान, जहूर खान, रोहन मुस्तफा र जवार फरिदले २/२ विकेट लिए । यो जितसँगै नेपालले दुई खेलअघि नै एकदिवसीय मान्यता जोगाएको छ ।

एकदिवसीय मान्यता कायम गर्न तालिकाको शीर्ष पाँचमा अट्नुपर्ने हुन्छ । नेपाल ३४ खेलमा ३६ अङ्कसहित लिग–२ तालिकाको चौथौ स्थानमा उक्लिएको छ । साथै नेपालले शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोट खेल्ने सम्भावना कायमै राखेको छ ।

अब नेपालले लिग–२ को अन्तिम शृङ्खलाको बाँकी दुइटै खेल जित्नुपर्ने हुन्छ । अब नेपालले भोलि सोमवार पीएनजीसँग र बिहीवार अन्तिम खेलमा यूएईसँग खेल्नेछ । लिग–२ बाट स्कटल्यान्ड ३६ खेलमा ५० अङ्क र ओमान ३६ खेलमा ४४ अङ्कसहित क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदै सोझै विश्व कप खेल्नका लागि छनोट भइसकेका छन् ।

प्रतिक्रिया