जीवनशैली

देशको आर्थिक समृद्धिका लागि कलाकारको भूमिका महत्वपूर्ण : राजेन्द्र लिङ्देन

काठमाडौं, २८ फागुन । पूर्वउपप्रधान तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको आर्थिक समृद्धिका लागि कला क्षेत्रलाई पनि जोड्न आवश्यक रहेको बताएका छन् ।

दशौँ म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँच मनोनयनमा परेका कलाकार तथा स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गर्न शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धाराणा राखेका हुन् ।

अध्यक्ष लिङ्देनले भने, ‘राजनीति दलहरुले देशको नीति बनाउँदा कलाक्षेत्रलाई पनि जोड्न आवश्यक छ । देशको आर्थिक समृद्धिका लागि कला क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ ।’

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी उनले म्यूजिक खबरको दश वर्षे यात्राले कलासंस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै शुभकामनासमेत दिए । कार्यक्रममा गीतसंगीतका विभिन्न ४० विधाका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा गायक शिव परियार, युवराज चौलागाई, प्रकाश तिमिल्सिना, सरोज कोइराला, मौसम गुरुङ, रञ्जित परियार, बालकुमार श्रेष्ठ, बादल घिमिरे, ईश्वर सिंह, गायिका कालिका रोका, अन्जु श्रेष्ठ, ऋतु कँडेल, संगीतकार दिपकराज विश्वकर्मा, अनिर मास्के, योगेश काजी शाह, चिरञ्जीवी भण्डारी, मोडल समिक्षा क्षेत्री, जीबी चिरनलगायतका दर्जनौं स्रष्टा, कलाकार, प्राविधिकको उपस्थिति थियो ।

म्यूजिक खबर म्यूजिक अवार्डका निर्देशक मिलन मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रममा गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, महासचिव शिव राई, तमु कलाकार संघका अध्यक्ष शर्मिला गुरुङ, राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष विक्रमजंग शाह, गोरखा सांस्कृतिक समाजका महासचिव रविन लामिछाने, कार्यक्रमका सल्लाहकार राधेश्याम लेकाली, वरिष्ठ गायक प्रेमराजा महतलगायतको पनि उपस्थिति थियो ।

कार्यक्रममा साहित्य, कलासँग जोडिएका संचारकर्मी, साहित्यकार, कलाकारलाई सम्मान गरिएको थियो । म्यूजिकखबर साहित्य सम्मानबाट साहित्यकार मालिका केशरी, म्यूजिक खबर कला सम्मानबाट चित्रकार सुमिना श्रेष्ठ, म्यूजिक खबर विशेष पत्रकारिता सम्मान नेमिश गौतम र राजु बोहरा, म्यूजिक खबर पत्रकारिता सम्मानबाट पत्रकार एलिना खनाल, अरविन्द्र गौतम र प्रकाश बराइलीलाई सम्मान गरिएको थियो ।

यस्तै, म्यूजिक खबर दीर्घ साधना सम्मानबाट गायिका तिर्थकुमारी थापालाई सम्मान गरिने भएको छ भने दशकको सम्मानबाट गायक भोजराज काफ्ले र गायिका निशा देशारलाई सम्मान गरिने भएको छ ।

त्यस्तै, म्यूजिक खबर युवा प्रतिभा पुरस्कारबाट गायिका मनिषा पोखरेल, म्यूजिक खबर डायस्पोरा संगीत सम्मानबाट वरिष्ठ गायक प्रेमराजा महत, म्यूजिक खबर संगीत सम्मानबाट गीतकारद्वय राम अबिरल र रामचन्द्र ढकाल, म्यूजिक खबर बालप्रतिभा सम्मानबाट गायिका आयुषा गौतमलाई सम्मान गरिने भएको छ । त्यस्तै म्यूजिक खबर पत्रकारिता सम्मानबाट पत्रकार सानुकाजी श्रेष्ठ र चन्द्रमणी गौतमलाई सम्मान गरिने भएको छ ।

कार्यक्रमलाई शुभकामना मन्तव्य दिँदै अवार्डका अध्यक्ष सुमन बैरागीले दश वर्षे यात्रामा भोगिएको आरोह अवरोह विर्संदै कलाकारको सम्मान र प्रोत्साहनमा समर्पित गर्ने अवसर मिलेकोमा म्यूजिक खबर परिवारले गर्व महसुस गरेको बताए ।
अवार्ड कहिले प्रदान गर्ने भन्ने मिति तय नभएपनि चाडै मिति तय गरिने अध्यक्ष बैरागीले बताए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top